नुवाकोटमा सिंदुरे जात्रा स्थगित : सिंदुरे जात्रा नुवाकोटको सांस्कृतिक परिचय
भैरवीको सिन्दुरे जात्रा यसअघि २०११ सालमा राजा त्रिभुवनको मृत्यु भएको वर्ष रोकिएको थियो । कोरोना संक्रमणको जोखिम लाई ध्यन दिदै यश बर्षको जात्रा पनि स्थगित गरिएको छ।
सिंदुरे जात्रा नुवाकोटको सांस्कृतिक परिचय
नुवाकोटमा भैरवीको सिन्दुर यात्रा सांस्कृतिक रुपले आकर्षक मानिन्छ । देवी जात्रा अर्थात सिन्दुरे जात्रालाई आन्तरिक पर्यटक मात्र होइन विदेशि पर्यटकहरुले समेत रुचिका साथ हेर्ने गर्दछन । भैरवीको सिन्दुर यात्रा प्रत्येक बर्ष चैत्रशुक्ल पूर्णिमाका दिन हुने गर्दछ । यो जात्रा फागु पूर्णिमादेखि शुरु भएर महिना दिन सम्म चलिरहन्छ । फागु पूर्णिमाको दिनदेखि जात्राको तयारी हुनेहुदा पुजारीहरुले जहाँ पायो त्यहाँ खाँदैनन। यो जात्रा चलिरहँदा नारायण जात्रा पनि धुमधामका साथ मनाइन्छ । यो जात्रा घोडे जात्राको दिन र त्यसको भोलिपल्ट गरेर दुई दिन चल्छ । अघिल्लो दिन नारायण देवता बेसी जाने र भोलिपल्ट नारायण देवता बेसीबाट फर्कन्छन ।
सिन्दुरे जात्राका लागि धामी अर्थात भैरवी मन्दिरका पुजारी र धमिनीका साथै द्वारे अर्थात सरकारका प्रतिनिधि कुमार, गणेश तथा गुठियारहरुको व्यवस्था हुँदै आएको छ । वि.सं.१८०१ मा नुवाकोट विजय गर्नुअघि यहाँ ‘हाकुद्यो’ नाम गरेका धामी थिए। हालका धामी हरिमानसिं डंगोल उनका बाह्रौं पुस्ताका हुन। धामीले राष्ट्रप्रमुखको अनुमतिबिना नुवाकोटको त्रिशूली, सामरी, तादी, लिखु नदी पार गर्न नहुने प्रचलन छ । यो प्रचलन मल्लकालीन समयभन्दा अघिदेखि रहदै आएको हो ।
चैत्र शुक्ल पूर्णिमाका दिन बेलुका धामीको स्नान कार्यसँगै जात्रा मुख्य विधिबाट शुरु हुन्छ। बन्दुक पडकेको विशेष साइतमा स्नान कार्य गरेपछि धामीलाई विशेष पोशाक पहिराइन्छ । सुनौला मुकुट, गहना, बाला, चाँदीको पेटी, डमरु पात्र, भोटो र जामा आदि वेशभूषामा धामी निकै भव्य र आकर्षक देखिन्छन् । त्यसपछि धामी आफ्नो निवासमा सगुन लिएर बाहिर निस्की दौडेर द्वारेको घरमा पुग्छन् । धामी दौडेको दृश्य रमाइलो र केही डरलाग्दो देखिन्छ । तान्त्रिक विधिद्घारा बज्राचार्यले मन्त्रोचारण गर्ने र तदनुसार गुठियारद्वारा धामीलाई पूजा गर्ने गरिन्छ ।
त्यसपछि बज्राचार्यद्वारा धामीधमिनीमा भैरवभैरवी चढाउने विधि गरिन्छ । धामीधमिनी देवीको रुप धारण भइसकेपछि काँप्न थाल्छन् । भैरवलाई चढाइएको महाबलिको जाँड पिउन धामी झम्टिन्छन। यसपछि मन्त्रोन्चारणका साथ बज्राचार्यले धामीलाई गाजल लगाइदिन्छन् । महाबलिको कार्य सम्पन्न भइसकेपछि बूढी भैरवी (देवी भैरवीकी आमा) र भैरवी मन्दिरको पछाडि एक–एकवटा लिंगो गाडने गरिन्छ । लिंगो गाड्ने बेलामा धामी खाल्टोसँगै भैरवीको रुप धारण गरी आसन जमाएर बसिरहनु पर्छ । यो अवधि धामीका लागि कष्टकर हुन्छ । यो लिंगोहरु वैशाख कृष्ण नवमी र दशमीका दिन क्रमशः ढालिन्छ ।
प्रतिपदाको दिन धामीलाई गणेशको घरमा भोज खुवाइन्छ । त्यसपछि द्वारेद्वारा धमिनीलाई साततले दरवारको बैठक कक्षमा वस्त्र प्रदान गरिन्छ । हाल साततले दरबार भूकम्पले क्षति पुगेर टेकोको भरमा अडयाएर राखिएकाले दरबार बाहिर प्रदान गरिने गरिएको छ । धामी, कुमार, गणेश र अन्य खलकीहरुलाई पगरी (फेटा) दिइन्छ । जात्रा सकिएपछि गणेशलाई प्रदान गरिएको पगरी फिर्ता लिइन्छ । धामीधमिनी आफ्नो निवासतर्फ लाग्छन । केही बेरपछि विशेष बाजागाजा साथ धामीधमिनी र गणहरुलाई तलेजु मन्दिरतर्फ लगिन्छ ।
तलेजु भवानी भूकम्पले तहसनहस बनाएपछि र बर्खाको पानीले ढलेको छ । यशअघिका बर्षमा बाहिर कटेज बनाएर राखिएको छ । त्यहाँ बज्राचार्यद्वारा आवश्यक पूजाआजा गर्ने कार्य सकिएपछि यो जात्रा भैरवी मन्दिरदेखि दक्षिण–पश्चिमपट्टि देवीघाट अर्थात जालपा मन्दिर तर्फ प्रस्थान गर्छन। देवीघाट ऐतिहासिक स्थल हो जहा पृथ्वी नारायण शाहको दाहसस्कार गरिएको थियो । जालपादेवी अर्थात देवीघाट यात्रामा खटमा भैरवभैरवी र अष्टमातृकाका मूर्तिहरु राखिएका हुन्छन। यो यात्रा धरमपानी, बट्टार, माझीटार र ठूलो बगैंचा हुँदै देवीघाटमा पुर्याइन्छ । देवीघाटमा बज्राचार्यद्वारा विशेष अनुष्ठान गरी राति धामीलाई राँगा, बोकाको भोग दिइन्छ । अन्त्यमा माछाको भोग दिइन्छ ।
Comments
Post a Comment